Thursday, July 22, 2010

महानगरपालिकाका सबै वडा कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी

प्रहरी हस्तक्षेपको विरोधमा मसाल जुलुस-


काठमाडौँ, साउन ५ (नागरिक)- काठमाडौंबासी नेवार समुदायले बुधबारदेखि महानगरपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरेको छ। तालाबन्दीका क्रममा प्रहरी हस्तक्षेपमा केही आन्दोलनकारी घाइते भएका छन् र केहीलाई हिरासतमा लिइएको छ।



प्रहरी हस्तक्षेपको विरोधमा नेवार समुदायको छाता संस्था नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिले बुधबार साँझ मसाल जुलुस प्रदर्शन गरेको छ।





नगरपरिषद्को चौधौं बैठकले निर्धारण गरेको सिद्धान्त विपरित तथा गैरसमावेशीय तरीकाबाट विभिन्न पदमा काठमाडौँ महानगरपालिकाले गर्न लागेको कर्मचारी नियुक्ति प्रक्रिया रद्द गराउनु पर्ने माग आन्दोलनकारीको छ। महानगरपालिकाका आदिवासी नेवार समुदायसँग प्रत्यक्ष सरोकार रहेका विभिन्न मागहरु पूरा गराउन नेवाः स्वायत्त राज्य संयुक्त संघर्ष समितिको आह्वानमा अनिश्चितकालीन तालाबन्दी गरिएको हो।



समितिका अध्यक्ष मंगल महर्जनका अनुसार बुधबार बिहानैदेखि शुरु गरिएको तालाबन्दी कार्यक्रमको सिलसिलामा वडा नं १० बाट बोधराज श्रेष्ठ, मन्दिरा तण्डुकार, सानुकाजी महर्जन, राजकुमार श्रेष्ठका साथै वडा नं ३४ बाट कृष्णभक्त मानन्धर, राजन किराती, रोहित, दुर्गा श्रेष्ठ, लक्ष्मण जोशी, दिलबहादुर श्रेष्ठ, निशान र इन्द्रबहादुर लामा सहित तेह्र जनालाई प्रहरीले हिरासतमा लिएको छ।



तालबन्दीकै क्रममा वडा नं १७ धोबीचौरमा प्रहरी हस्तक्षेप र लाठीचार्जबाट अमररत्न बज्राचार्य, चिनियाँमान बज्राचार्य, नरेशवीर शाक्य, डा. महेशमान श्रेष्ठ, रत्नदेवी कसाः, शोभा बज्राचार्य, शिलरत्न स्थापित, राजेन्द्र श्रेष्ठ, चाँद शाही, सुवर्ण कृष्ण मानन्धर, बुद्ध सिंह, ज्योति मानन्धर, रेणु शाक्य, शैलेस श्रेष्ठ, रामदेवी महर्जन, महेश्वरलाल श्रेष्ठ, नविन श्रेष्ठ, ध्रुव केसी, विर्नोद महर्जन, नारायण महर्जन, पुण्यराज शाक्य, सानु धोबी, रिना पोडेनी, सागरी श्रेष्ठ र ध्रुब थापा, महेश नेवाः सख्त घाइते भएको महर्जनले बताए।



त्यहाँ प्रहरी र आन्दोलनकारी बीच केही समय ढुङ्गा हानाहान पनि भएको थियो। प्रहरी हस्तक्षेपको विरोधमा संघर्ष समितिले सोही वडा केन्द्रीत विरोध जुलुस, आमसभा र धर्नाको समेत कार्यक्रम गरेको थियो।



संघर्ष समितिले आन्दोलनका क्रममा शुक्रबार काठमाडौं महानगरपालिका पदपूर्ति समितिको कार्यालयमा तालाबन्दी र जुलुसको कार्यक्रम राखेको छ। यस्तै साउन ९ गतेदेखि महानगरपालिकाको केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिने समितिले जनाएको छ।



आन्दोलनरत संयुक्त संघर्ष समिति प्रमुख तीन राजनीतिक दल नेपाली काँग्रेस, एमाले र माओवादीको भ्रातृ संस्थाहरुसमेत आवद्ध रहेको नेवाः स्वायत्त राज्यका लागि क्रियाशील सबै नेवार संगठनहरूको साझा र प्रतिनिधिमूलक संगठन हो। यसमा नेपाली कांग्रेसको भ्रातृ संगठन- नेवाः लोकतान्त्रिक दबू, नेकपा एमालेको भ्रातृ संगठन- नेवाः लोकतान्त्रिक नेवाः संघ र एनेकपा माओवादीको भ्रातृ संगठन नेवाः राष्ट्रिय मुक्ति मोर्चा पनि आवद्ध छन्।

http://nagariknews.com/society/nation/15964-2010-07-21-16-50-46.html

No comments:

Post a Comment