Saturday, December 4, 2010

गुठीको जमिन व्यवस्थापन गर्ने संकल्प


राजेन्द्र मानन्धर
दोलखा -लापिलाङ, मंसिर १७ -
जथाभावी भोगचलन हुँदै आएको ९ सय रोपनी गुठीको जमिन व्यवस्थित गर्दै धार्मिक पर्यटन विकास गर्न लिखित संकल्प गरिएको छ ।

गुठीको जग्गा रहेका उत्तरी लापिलाङ, बाबरे र लामीडाँडा गाविसवासीले खेतीयोग्य जमिनको आयस्थाले धार्मिकस्थलको संरक्षण गर्दै कला र संस्कृति जोगाउन प्रयोग गरिने प्रतिबद्धता गरेका हुन् । कालीदेवी भगवती गुठी व्यवस्थापन समितिद्वारा आयोजित कार्यक्रममा जथाभावी हडपेको जग्गाको आयस्था गुठीमा संकलन गर्ने साझा प्रतिबद्धतासमेत गरे । बृहत् सर्वपक्षीय भेलाले करिब डेढ सय परिवारले भोगचलन गर्दै आएको जमिनलाई व्यवस्थित गर्न कार्यदलसमेत बनाएको छ ।

लापिलाङको चर्चित भगवती मन्दिरलाई व्यवस्थित गर्दै केबलकार निर्माण महत्त्वाकांक्षी योजना रहेको भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठ र गुठी प्रशासक वीरेन्द्र थपलियासमेत पाहुनाहरूले प्रतिबद्धतामा हस्ताक्षेर गरेका छन् । गुठीको ९ सय रोपनी खेतीयोग्य जमिनलाई कानुनसम्मत गराउन दुर्गम उत्तरी गाउँमा पुगेका मन्त्रीले मोहीलाई नियमानुसार खेतीको आयस्था बुझाउन अनुरोध गरे ।

धर्म, कला र संस्कृति जोगाउन मोहीको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै उनले स्थानीयको अभियानलाई प्रोत्साहित गर्दै एक महिनाको तलब, भत्ताबापत आउने ४० हजार रुपैयाँ गुठीलाई दान गर्ने वचन दिए ।

प्रकाशित मिति: २०६७ मंसिर १८ ०९:२४

No comments:

Post a Comment