Wednesday, August 11, 2010

शान्ति र संविधानका लागि भन्दै जनजाति आन्दोलनमा

कान्तिपुर संवाददाता

काठमाडौ, श्रावण २६ - शान्ति र संविधानको माग गर्दै नेपाल आदिवासी जनजाति महासंघले थप आन्दा्लनको कार्यक्रम घोषणा गरेको छ । महासंघले साउन ३० गते देशव्यापी चक्काजाम कार्यक्रम घोषणा गरेको छ । बुधबार पत्रकार सम्मेलन आयोजना गरी चक्काजामको घोषणा गरेको हो ।
यसअघि महासंघले मुलुकभर चक्काजाम र उपत्यका नाकाबन्दीको कार्यक्रम घोषणा गरेकोमा उपत्यकाका आदिवासी नेवार समुदायको अनुरोधमा परिमार्जन गरेर मुलुकभर चक्काजाम आयोजना गरिएको जनाएको छ ।
'हामीले मुलुकका तीन करोड जनताले समयमै संविधान पाउनुपर्छ भनेर आन्दोलनरत छौं' महासंघका अध्यक्ष राजकुमार लेखीले भने, 'आन्दोलनको उद्देश्य शान्ति र संविधान भन्दा अरु केही छैन ।'
थपिएको एक बर्षमा पनि संविधान जारी नहुने डरले गर्दा आन्दोलन गर्नु परेको महासंघका अधयक्ष लेखीले बताए । साउन १ गतेदेखि नै विभिन्न स्वरुपमा आन्दोलन गर्दै आएको महासंघले पहिलो चरणको अन्तिम् कार्यक्रमको रुपमा ३० गते देशव्यापी चक्काजाम गर्न लागेको हो ।
गत जेठ १४ गते संविधानसभाको समयावधी सकिन लाग्दा महासंघले संविधानसभा बचाउ अभियान स्वरुप नयाँ वानेश्वरस्थित संविधानसभा भवन अगाडि अनिश्चितकालिन धर्ना बसेको थियो ।
महासंघले संविधानसभाबाट मात्र आदिवासी जनजाति, दलित, महिला, मधेसीलगायतका सबै उपेक्षित उत्पीडितहरुको अधिकार सुनिश्चित भएको संविधान बनाउन सकिने बताउँदै आएको छ । संविधानसभाबाट आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित भएको संविधान जारी गराउनका लागि थप आन्दोलनका कार्यक्रमहरु ल्याउने महासंघले जनाएको छ ।
३० गतेको चक्का जाममा एम्बुलेन्स दमकल पर्यटक पत्रकारलगायतका अतिआवश्यकीय सेवाहरुलाई सुचारु हुन दिने उल्लेख गरेको छ ।

http://www.ekantipur.com/np/2067/4/26/full-news/316052/ 

No comments:

Post a Comment