Monday, August 9, 2010

विश्व आदिवासी दिवस/विविध कार्यक्रमहरु

कान्तिपुर संवाददाता
तस्वीर : खिम घले ।
काठमाडौ, श्रावण २३ -
सोह्रौ विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति संघसंगठनहरुले बिविध कार्यक्रमको आयोजना गरेका छन् । केन्द्रीय तहमा राजधानीमा र बिभिन्न जिल्लाहरुमासमेत आइतवार आदिवासी दिवसका अवसरमा विविध कार्यक्रमहरु भएका छन् भने दिवसको दिन सोमबार मूल समारोहको आयोजना गरिएको छ ।
आदिवासी दिवसकै अवसर पारेर आइतवार साँझ नेपाल आदिवासी जनजाति महासंघले माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ ।
दीगो शान्ति र नयाँ संविधान निर्माणको कामना गर्दै महासंघले दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो ।
त्यसैगरी आइतवार नै एमालेको लोकतान्त्रिक आदिवासी जनजाति महासंघले पनि प्रबचन कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालले आफ्नो पार्टीले आदिवासी जनजातिहरुलाई नयाँ संविधानमार्फत अधिकार दिनुपर्छ भन्ने कुरामा प्रतिबद्ध रहेको बताए ।
'हाम्रा सामु वर्गिय र जातीय अन्तर विरोध रहेको कुरालाई हाम्रो पार्टीले स्वीकार गरेको छ' उनले पार्टी मुख्यालय बल्खुमा आयोजित कार्यक्रममा भने, 'आदिवासी जनजातिहरुको पहिचानसहितको अधिकार दिनका लागि हाम्रो पार्टीहरु अरु दलहरु भन्दा अगाडी छ ।'
कार्यक्रममा लोकतान्त्रिक महासंघका अध्यक्ष पृथ्वी सुव्वा गुरुङले आदिवासी जनजातिहरुको अधिकार वहालीका लागि संयुक्त राष्ट्रसंघले नै दिवसको घोषणा गरेको उल्लेख गर्दै उनीहरुको अधिकार स्थापना बेगर दीगो शान्ति र नयाँ संविधान संस्थागत हुन नसक्ने उल्लेख गरे ।
काँग्रेस केन्द्रिय सदस्य इन्द्रबहादुर गुरुङले संविधानसभामा २१८ जना आदिवासी सभासद्हरु भएपनि उनीहरु बीच मतैक्य नभएकाले आदिवासी जनजातिहरुले आफ्नो अधिकार नयाँ संविधानमा सुरक्षित गर्नका लागि बाहिरबाट दवाव दिनुपर्ने उल्लेख गरेका थिए ।
जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले आफुहरुले कुनै जात विशेषको भन्दा पनि 'बहुनवाद' भनेर शासकीय संस्कृतिको बिरोध गरेको उल्लेख गर्दै आदिवासी जनजातिहरुको अधिकार नयाँ संविधानले ग्यारेन्टी नगरेसम्म आन्दोलन जारी राख्ने बताए ।
प्रभावतफेरी र जलपान
विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) को स्थापना दिवसको अवसर परेर प्रभातफेरी तथा जलपान कार्यक्रमको आयोजना गरियो । आइतवार विहान आयोजित प्रभातफेरीमा आदिवासी जनजाति पत्रकार, नेपाल पत्रकार महासंघका प्रतिनिधि, नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारी तथा आदिवासी जनजाति सभासद्हरुकोसमेत सहभागिता थियो ।
भृकुटी मण्डपबाट सुरु भएको प्रभातफेरी टुँडीखेल परिक्रमा गरेर फेरी भृकुटी मण्डपमा आइ समापन सभामा परिणत भएको थियो । सभामा जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष चन्द्रकुमारी गुरुङ, सभासद् पासाङ शेर्पा, पत्रकार महासंघका उपसभापति गोविन्द आचार्यलगायतले प्रेस स्वतन्त्रताको सबै पक्षले सम्मान गर्नपर्ने र प्रेसले पनि आदिवासी जनजातिलगायतका विभेदमा पारिएका समुदायको समस्या र सवालहरुलाई प्राथमिता दिनुपर्ने बताएका थिए ।
त्यसैगरी आइतवार नै दिउसो अनिजले जलपान कार्यक्रमको पनि आयोजना गरेको थियो । कार्यक्रममा सभामुख सुभाष नेम्वाङ, माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एमाले महासचिव इश्वर पोख्रेल, एमाले पोलिटब्यूरो सदस्य पृथ्वी सुव्वा गुरुङलगायतका नेता तथा सञ्चारकर्मीहरुको सहभागिता थियो ।

http://www.ekantipur.com/np/2067/4/23/full-news/315878/

No comments:

Post a Comment